Shopping cart

  • Home
  • समाज
  • प्रदेश सत्ता फेरबदलको संकेत : ओली-प्रचण्ड संवादले नयाँ गठबन्धनको सम्भावना बढायो
देश

प्रदेश सत्ता फेरबदलको संकेत : ओली-प्रचण्ड संवादले नयाँ गठबन्धनको सम्भावना बढायो

Email :31

काठमाडौं । प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर नेपाली कांग्रेससँगको मतभेद गहिरिँदै गएपछि नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच राजनीतिक सहकार्यको सम्भावना बलियो बन्दै गएको छ। यही सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्ला दिनमा संवाद तीव्र बनेको छ।

राजनीतिक स्रोतका अनुसार दुवै दलले पहिलो चरणमा कांग्रेसलाई समेत समेटेर प्रदेशमा तीन दलीय चुनावी सरकार गठन गर्ने प्रस्ताव अघि सार्ने समझदारी गरेका छन्। यदि कांग्रेस उक्त प्रस्तावमा सहमत नभए एमाले र नेकपाले संयुक्त रूपमा नयाँ सत्ता समीकरण निर्माण गर्ने विकल्पमा अघि बढ्ने तयारी गरेका छन्।

मंगलबार ओलीसँग भेटवार्ता गरेपछि जनकपुर पुगेका प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिले वाम शक्तिबीच सहकार्यको वातावरण सिर्जना गरेको बताएका छन्। उनले एमालेसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै आगामी रणनीतिबारे छलफल जारी रहेको जानकारी दिएका छन्।

नेकपा प्रवक्ता प्रकाश ज्वालाले पनि कांग्रेसलाई तीन दलीय सरकार गठनको प्रस्ताव प्रस्तुत गरिने र त्यसपछि प्राप्त प्रतिक्रियाका आधारमा आगामी निर्णय लिइने बताएका छन्। उता एमाले नेताहरूले कांग्रेससँगको सहकार्यभन्दा नेकपासँगको राजनीतिक समझदारीको सम्भावना अहिले बढी देखिएको प्रतिक्रिया दिएका छन्। प्रदेश तहमा समेत दुवै दलका नेताबीच सरकार गठनका विषयमा छलफल सुरु भइसकेको बताइएको छ।

यदि नयाँ सत्ता समीकरणले मूर्त रूप लियो भने सुदूरपश्चिम, कर्णाली, कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा सरकारको संरचना परिवर्तन हुन सक्ने आकलन गरिएको छ। यससँगै आगामी स्थानीय तह निर्वाचनमा कार्यगत सहकार्य विस्तार गर्दै भविष्यमा पार्टी एकतासम्म पुग्ने सम्भावनाबारे पनि प्रारम्भिक तहमा छलफल भइरहेको स्रोतको दाबी छ।

Comments are closed

Related Post