Shopping cart

  • Home
  • समाज
  • अल्लो र भाङ्ग्राले बदलिएको जीवन : शून्यबाट करोडौँको उद्योगसम्म
अन्तर्राष्ट्रिय

अल्लो र भाङ्ग्राले बदलिएको जीवन : शून्यबाट करोडौँको उद्योगसम्म

Email :141

काठमाडौं । बझाङको विकट गाउँमा जन्मिएका डा. गणेश ऐडी आज नेपाली अल्लो, भाङ्ग्रो र हेम्पका उत्पादनलाई विश्वका ७० भन्दा बढी देशसम्म पुर्‍याउने सफल उद्यमी बनेका छन्। अभाव, संघर्ष र असफलतासँग जुध्दै उनले प्रमाणित गरेका छन्-“इच्छाशक्ति भए नेपालमै पनि असम्भव केही छैन।”

बाल्यकालमा घरमै बुनेका अल्लो र गाँजाका कपडा लगाएर विद्यालय जाने गणेशले कक्षा ६ मा पढ्दाको एउटा घटनाबाट जीवनको दिशा पाए। काठमाडौं भ्रमणका क्रममा विदेशी पर्यटकले उनको गाँजाको झोला २५० युरोमा खरिद गरेपछि उनले नेपाली रेसाजन्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य बुझे। त्यही क्षण उनले भविष्यमा यही क्षेत्रमा केही ठूलो गर्ने सपना देखेका थिए।

संघर्षको यात्रा भने सहज थिएन। कहिले गार्मेन्टमा मजदुरी, कहिले सस उत्पादन, त कहिले असफल व्यवसाय। तर उनले हार मानेनन्। अन्ततः हेम्प र अल्लोबाट झोला तथा कपडा उत्पादन सुरु गरेपछि उनको उद्यमले गति लिन थाल्यो। सामाजिक सञ्जाल र प्रविधिको प्रयोगसँगै विदेशी बजार खुल्दै गयो।

आज उनका उद्योगहरूले हजारौँ प्रकारका हेम्पजन्य सामग्री उत्पादन गरिरहेका छन्। वार्षिक करोडौँको कारोबारसँगै सयौँ नेपालीलाई रोजगारी दिएका छन्। अझ महत्वपूर्ण कुरा, उनले नेपालको स्थानीय स्रोत, सीप र परम्परागत ज्ञानलाई विश्वबजारमा चिनाएका छन्।

डा. ऐडीको सफलता केवल व्यक्तिगत उपलब्धि होइन, यो नेपालमै बसेर मेहनत, लगन र नवीन सोचका साथ ठूलो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो। उनी भन्छन्, “नेपाल सम्भावनाले भरिएको देश हो। युवाले विदेशिनु मात्र विकल्प होइन, आफ्नै माटोमा अवसर खोज्न सिक्नुपर्छ।”

Comments are closed

Related Post