काठमाडौँ। नेपालमा महिलाहरू तथा लिङ्ग–अल्पसंख्यक राजनीतिज्ञमाथि अनलाइन माध्यमबाट हुने लक्षित आक्रमण र लिङ्गीय हिंसा तीव्र रूपमा बढ्दै गएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ।
‘महिला सुरक्षा दवाव समूह’ले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आइतबार आयोजना गरेको ‘राजनीतिमा महिलामाथि हुने हिंसा’ विषयक कार्यक्रमबाट उक्त तथ्य सार्वजनिक गरिएको हो।
पर्पल फाउन्डेसनका नानीमैयाँ थापाद्वारा प्रस्तुत कार्यपत्र अनुसार अनलाइन लिङ्गीय हिंसाले महिलाको राजनीतिक सहभागिता, समाजमा छवि, आत्मविश्वास र नेतृत्व विकासमा गहिरो असर पारिरहेको छ।
अनुसन्धानले मिश्रित विधि अपनाइ ४ सय ९२ जनाको सर्वेक्षण, ७२ गहिराइपूर्ण अन्तरवार्ता र ४८ काे ईन्फर्मेन्ट अन्तर्वार्तामार्फत तथ्य सङ्कलन गरेको थियो। सर्वेक्षण अनुसार ८१ प्रतिशत उत्तरदाताले सामाजिक सञ्जाल प्रयोग गर्ने बताएकोमा ६६.१ प्रतिशतले आफू अनलाइन हिंसाको शिकार भइसकेको अनुभव व्यक्त गरेका छन्।
९०.७ प्रतिशत सहभागीले अनलाइन लिङ्गीय हिंसा अहिले पनि केही हदसम्म वा व्यापक रूपमा विद्यमान रहेको स्वीकार गरे।
सहभागीहरूले हल्ला फैलाउने, बदनाम गर्ने सामग्री, धम्की, चरित्र हत्या र व्यक्तिगत जीवनका संवेदनशील पक्ष सार्वजनिक गर्ने जस्ता आक्रमण सामान्य रूपमा भोगिरहेका छन्। एक सहभागीले भने, “अनलाइन प्रचार-प्रसारले सार्वजनिक छवि मात्र होइन, परिवारसम्म असर पुर्याउँछ।”
९५.३ प्रतिशत सहभागीका अनुसार यस्तो अनलाइन आक्रमणले महिलाहरूको सक्रिय राजनीतिक सहभागिता, उम्मेदवारी र नेतृत्वमा नकारात्मक असर पुर्याइरहेको छ।
रिपोर्टले राजनीतिक दलभित्रका सदस्य, प्रतिस्पर्धी राजनीतिज्ञ, स्थानीय व्यक्तिहरू तथा फेक अनलाइन खाताहरू यसका प्रमुख श्रोत रहेको देखाएको छ ।
कार्यक्रम महिला सुरक्षा दवाव समूहका अध्यक्ष इरादा गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।
स्वागत महासचिव बैजयन्ती कार्कीले तथा धन्यवाद मन्तव्य उपाध्यक्ष कमला उप्रेतीले राखेकी थिइन्। कार्यक्रम संचालन सचिव सीता ओझाले गरेकी थिइन्।














Comments are closed