काठमाडौं । सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको नेपाली कांग्रेसले जानकारी गराएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी गराएका हुन् । विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए।
उनले भने, ‘हामी सुरुमा अतालिएका थियौँ। तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो। अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ। उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा सामान्य चोट छ। टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ।’
उनले अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको बताए।
उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ। बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले छिटो स्वास्थ्य लाभ गर्न असहयोग गर्छ। त्यसो भएकाले केही दिन हेरौँ भन्नुभएको छ।’
गत २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।
कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।
पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो ।














Comments are closed