Shopping cart

  • Home
  • स्वास्थ्य
  • केन्द्र सरकारले लागु गर्न नसकेको नि:शुल्क उपचार काठमाडौं महानगरले
अन्तर्राष्ट्रिय

केन्द्र सरकारले लागु गर्न नसकेको नि:शुल्क उपचार काठमाडौं महानगरले

Email :167

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘लक्षित वर्ग निःशुल्क उपचार’ कार्यक्रममार्फत हालसम्म २०४ जना विपन्न, असहाय र बेवारिसे व्यक्तिले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

२०८० फागुन १ गतेदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म करिब ७४ लाख १६ हजार रुपियाँ बराबरको उपचार सेवा प्रदान गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका छन् । यसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशा, पित्त थैली र मिर्गौलाको पत्थरी, हाड जोर्नी तथा नाक कान घाँटी सम्बन्धी शल्यक्रियाहरू समावेश छन् ।

शल्यक्रियापछि दोस्रो बढी सेवा लिइएको विधा फेमिली मेडिसिन रहेको छ । यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, र दीर्घ कलेजो रोगका बिरामीले सेवा लिएका छन् ।

अन्य सेवातर्फ, ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायु सम्बन्धी, १३ जनाले श्वासप्रश्वास सम्बन्धी, र १२ जनाले मूत्र प्रणाली तथा पिसाब सम्बन्धी समस्याको उपचार गराएका छन् ।

 

महानगरको यस प्रणालीमार्फत सेवा दिने अस्पतालहरूमध्ये अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलले सबैभन्दा धेरै ५० जनालाई निःशुल्क सेवा दिएको छ ।

 

यस्तै काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना र पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा प्राप्त गरेका छन् ।

 

सेवा प्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिएका छन् । यस्तै गण्डकी प्रदेशका ३२ जनाले, कोशी प्रदेशका २७ जना, मधेश प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदुर पश्चिम प्रदेशका १५ जना विरामीले सेवा लिएका छन् । यो करिब ७४ लाख १६ हजार रुपियाँ खर्च बराबरको उपचार सेवा हो । यो संख्या सेवा प्रारम्भ भएको मिति २०८० फागुन १ गतेदेखि अहिलेसम्मको हो ।

लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन । यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो । सेवालाई सहजीकरण गर्न महानगरपालिकाको स्वास्थ्य विभागमा फोकल पर्सनको प्रबन्ध गरेर सहजीकरण हुने गरेको छ । यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या महानगरपालिकाको प्रणालीमा आवद्ध भएका छन् ।

विरामीहरूले सेवा लिने प्रक्रिया तथा आवश्यक कागजात, कुन अस्पतालमा कुन सेवा उपलब्ध छ, उपचारका लागि शैया (बेड) खाली छ वा छैन लगायतका अन्य विवरण www.freehealth.kathmandu.gov.np मा हेर्न सकिन्छ। लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी अनलाइन प्रणाली हेर्न यहाँ क्लिक गर्न सकिने महानगरले जनाएको छ ।

थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क कल सेन्टर ११८० मा फोन गर्न सकिने महानगरले जनाएको छ

Comments are closed

Related Post