काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीव्र प्रयास गरिरहेको बताएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी, डाक्टर र उपकरण परिचालन गर्ने निर्णय गरेको उनले जनाए ।
संसद् सम्बोधनमा उनले रोग नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने र हैजाको स्रोत पत्ता लगाउन छानबिन भइरहेको बताए । हैजा र झाडापखालाको औषधि निःशुल्क उपलब्ध गराइएको र नारायणी उपक्षेत्रीय अस्पतालमा निःशुल्क उपचार भइरहेको उनले उल्लेख गरे ।
हालसम्म वीरगञ्जमा ६२४ जना संक्रमित भएकामा ४३७ जना निको भई घर फर्किएका छन्, भने १८७ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ८४ नयाँ बिरामी थपिएका छन् र तीन जनाको मृत्यु भएको छ । सरकारले रोग रोकथाम र उपचारमा तीव्र गतिमा काम गरिरहेको छ ।














Comments are closed