तारा तामाङ (सुनाखरी)
सिन्धुपाल्चोक। स्थानीय सरकारले चाहे विकासका नयाँ मोडेल सम्भव छन् भन्ने उदाहरण बनेको छ सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका। गाउँपालिकाले सञ्चालनमा ल्याएको देशकै पहिलो स्थानीय सरकारद्वारा सञ्चालित अर्गानीक पसल स्थापना भएको दुई वर्ष पूरा गर्दै कृषक, उपभोक्ता र स्थानीय सरकारबीच विश्वासको सेतु बनेको छ।
२०८१ साल असार १६ गते स्थापना भएको यो अर्गेनिक पसल अहिले केवल बिक्री केन्द्र मात्र होइन, स्थानीय उत्पादनको सुनिश्चित बजार, किसानको आयआर्जन बढाउने माध्यम र स्वस्थ खानपानको अभियानका रूपमा स्थापित भएको छ। अरनिको राजमार्गअन्तर्गत खाडीचौर बजारमा रहेको यस पसलमा दैनिक स्थानीय उत्पादन किन्ने र बिक्री गर्नेको उल्लेखनीय चहलपहल देखिन्छ।
अर्गानीक उत्पादनको केन्द्र बन्दै खाडीचौर
थाहा पाएर यात्रा गर्ने धेरै यात्रुहरूले समेत गाडी रोकेर अर्गेनिक खाद्य सामग्री किन्ने गरेका छन्। पसलमा स्थानीय किसानले उत्पादन गरेका फापर, मकै, कोदो, जौको पिठो, च्याख्ला, भिर मह, घर मह, चौँरी, गाई र भैँसीको घिउ, शिलाजित, स्थानीय सिमी, राजमा, अकबरे खुर्सानी, टिमुर, सुन्तला, आलु, लसुन, प्याज, टमाटर लगायतका उत्पादन सुपथ मूल्यमा उपलब्ध छन्।
स्थानीय किसानहरू कोही घिउ, कोही मह, कोही केरा, त कोही मौसमी फलफूल र तरकारी डोकोमै बोकेर पसलमा ल्याउने गर्छन्। उनीहरूले ल्याएका उत्पादनको मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यका आधारमा निर्धारण गरिन्छ र किसानलाई तत्काल नगद भुक्तानी गरिन्छ। यही व्यवस्थाले किसानको सबैभन्दा ठूलो समस्या मानिने बजारको अनिश्चितता अन्त्य गरेको स्थानीयहरू बताउँछन्।

विद्यालयको दिवा खाजाबाट सुरु भएको सोच
गाउँपालिकाकी उपाध्यक्ष गीता नेपालका अनुसार अर्गेनिक पसल स्थापना गर्नुको मूल अवधारणा स्थानीय उत्पादनलाई विद्यालयसँग जोड्नु थियो।
उहाँका अनुसार गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरूमा दिवा खाजा कार्यक्रमका लागि वार्षिक करिब ७२ देखि ७५ लाख रुपैयाँ खर्च हुने भएकाले उक्त रकम बाहिरिने अवस्था अन्त्य गर्दै स्थानीय किसानकै उत्पादन खरिद गरी विद्यालयमा प्रयोग गर्ने लक्ष्य राखिएको हो।
यस अवधारणाअनुसार विद्यालयमा कोदो, मकै र चामलको पिठोबाट बनेका पुवा, खिर, आलु, रोटी, अचार लगायतका स्थानीय परिकारलाई प्राथमिकता दिइएको छ भने जंक फुडलाई पूर्ण रूपमा निषेध गर्ने नीति अवलम्बन गरिएको छ। यसले विद्यार्थीलाई स्वस्थ खाना उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको स्थायी बजार पनि सुनिश्चित गरेको छ।
तीन स्पष्ट उद्देश्य
अर्गेनिक पसल स्थापना पछाडि गाउँपालिकाले तीन प्रमुख उद्देश्य निर्धारण गरेको छ-
प्रत्येक किसानलाई उत्पादनसँग जोड्दै स्थानीय सरकारले बजारीकरणको ग्यारेन्टी लिने।
रोजगारीलाई कृषिसँग जोड्ने।
अर्गेनिक तथा स्वस्थ खानपानलाई प्रोत्साहन गर्ने।
पाँच लाखबाट सुरु, आज पाँच-छ जनालाई रोजगारी
अर्गेनिक पसल सञ्चालन गर्दै आएका सम्राटका अनुसार प्रारम्भिक चरण निकै चुनौतीपूर्ण थियो।
उहाँ भन्नुहुन्छ, “हामीले जम्मा पाँच लाख रुपैयाँबाट पसल सुरु गरेका थियौँ। सुरुमा धेरै संघर्ष गर्नुपर्यो। अहिले सबै व्यवस्थित हुँदै गएको छ। अहिले पाँचदेखि छ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् र मासिक करिब एक लाख ५० हजार रुपैयाँ तलब वितरण भइरहेको छ।”
उहाँका अनुसार किसानले ल्याएको जुनसुकै स्थानीय उत्पादन-भुटेको मकै, काँचो गुन्द्रुक, भटमास, मुला वा अन्य सामग्री-गुणस्तर पूरा भएमा पसलले खरिद गर्छ र मूल्य तत्काल भुक्तानी गर्छ। यही पारदर्शी प्रणालीले किसान र उपभोक्ता दुवैको विश्वास जित्न सफल भएको उहाँको भनाइ छ।
कृषिसँगै स्वास्थ्यलाई पनि प्राथमिकता
त्रिपुरासुन्दरी गाउँपालिकाले कृषिसँगै नागरिकको स्वास्थ्यलाई पनि समान प्राथमिकता दिएको छ।
‘अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत मुटुरोगीलाई निःशुल्क औषधि वितरण तथा गाउँपालिकाभित्रै निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सञ्चालन हुँदै आएको छ।
त्यस्तै ‘उपाध्यक्षसँग आमा बचाऔँ कार्यक्रम’ मार्फत हालसम्म १०४ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ।
‘उपाध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत प्रत्येक सुत्केरी महिलालाई चार क्यारेट अण्डा, एक हर्लिक्स, घिउ तथा यातायात खर्च उपलब्ध गराइँदै आएको छ।
गाउँपालिकाको विश्वास छ-स्वस्थ नागरिकले मात्र उत्पादन बढाउन सक्छन् र उत्पादनसँगै आर्थिक समृद्धि सम्भव हुन्छ।
हरेक वडाको आफ्नै पकेट क्षेत्र
कृषि उत्पादनलाई व्यवस्थित र व्यवसायिक बनाउन गाउँपालिकाले प्रत्येक वडालाई विशेष उत्पादनसँग जोडेको छ।
वडा नं. १ – मौरी तथा बाख्रापालन
वडा नं. २ – अलैँची र अकबरे खुर्सानी
वडा नं. ३ – टिमुर पकेट क्षेत्र
वडा नं. ४ – आलु पकेट क्षेत्र
वडा नं. ५ – आलु पकेट क्षेत्र
वडा नं. ६ – कफी तथा सुन्तला
यस व्यवस्थाले किसानलाई उत्पादनमा विशेषज्ञता हासिल गर्न, सामूहिक उत्पादन बढाउन र बजार व्यवस्थापन सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाको दाबी छ।
अनुकरणीय स्थानीय सरकारको नमुना अभ्यास
सामान्यतया स्थानीय सरकारहरू पूर्वाधार निर्माणमा केन्द्रित भइरहेका बेला त्रिपुरासुन्दरी गाउँपालिकाले उत्पादन, बजारीकरण, पोषण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई एउटै सूत्रमा गाँसेर विकासको फरक अभ्यास प्रस्तुत गरेको छ।
स्थानीय किसानले उत्पादनको सुनिश्चित बजार पाएका छन्, उपभोक्ताले गुणस्तरीय अर्गेनिक खाद्य सामग्री उचित मूल्यमा पाएका छन्, विद्यालयका बालबालिकाले स्थानीय तथा पोषणयुक्त खाजा खान थालेका छन्, महिलाको स्वास्थ्यमा विशेष लगानी भएको छ र युवाले गाउँमै रोजगारीको अवसर पाएका छन्।
दुई वर्षको अनुभवले देखाएको छ-स्थानीय सरकारको स्पष्ट सोच, राजनीतिक इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन भए कृषि केवल जीविकोपार्जनको माध्यम मात्र होइन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बलियो आधार बन्न सक्छ। त्रिपुरासुन्दरी गाउँपालिकाको अर्गेनिक पसल त्यसैको एउटा जीवन्त र अनुकरणीय उदाहरण बनेको छ।

स्थानीय तहले सिक्नुपर्ने पाठ
नेपालका अधिकांश स्थानीय तहले कृषि विकासका लागि अनुदान वितरण गर्ने गरेका छन्। तर अनुदानभन्दा ठूलो समस्या बजार व्यवस्थापन हो। त्रिपुरासुन्दरी गाउँपालिकाले भने किसानलाई उत्पादनसँग मात्र होइन, बजारसँग पनि जोड्ने काम गरेको छ।
स्थानीय सरकारले स्वयं बजारको भूमिका निर्वाह गर्दा किसानको जोखिम घटेको छ। विद्यालय, स्वास्थ्य, पोषण, रोजगारी र कृषि-यी सबै क्षेत्रलाई एउटै विकास चक्रमा जोडिएको देखिन्छ।
दुई वर्षको अनुभवले एउटा स्पष्ट सन्देश दिएको छ-स्थानीय सरकारसँग स्पष्ट दृष्टिकोण, इमानदार कार्यान्वयन र जनतासँगको सहकार्य भए कृषि विकासको सपना व्यवहारमै उतार्न सकिन्छ।
खाडीचौरको यो अर्गेनिक पसल केवल एउटा पसल होइन, स्थानीय सरकार कसरी किसानको अभिभावक बन्न सक्छ भन्ने जीवित उदाहरण हो। यही कारण आज त्रिपुरासुन्दरी गाउँपालिकाको यो अभियान सिन्धुपाल्चोकमा मात्र सीमित छैन, देशभरका स्थानीय सरकारका लागि अध्ययन र अनुकरण गर्न योग्य विकास मोडेलका रूपमा स्थापित हुँदै गएको छ।














Comments are closed