Shopping cart

  • Home
  • समाज
  • मानव बेचबिखन : सभ्यताकै कलंक
अन्तर्राष्ट्रिय

मानव बेचबिखन : सभ्यताकै कलंक

Email :151

लेखनाथ सिकारू

जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको सन्दर्भमा

मानव सभ्यताले विज्ञान, प्रविधि, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। विश्वले कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष अनुसन्धान र डिजिटल क्रान्तिको युगमा प्रवेश गरिसकेको छ। तर यिनै उपलब्धिका बीच मानिसलाई वस्तुसरह किनबेच गर्ने, छलकपट र बल प्रयोगमार्फत शोषण गर्ने मानव बेचबिखनजस्तो अमानवीय अपराध अझै विश्व समुदायका लागि गम्भीर चुनौती बनेर उभिएको छ। आधुनिक युगमा पनि मानिसलाई स्वतन्त्रताबाट वञ्चित गरी आर्थिक लाभका लागि बेचबिखन गरिनु मानव सभ्यतामाथिको गहिरो कलंक हो।

यही यथार्थप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन हरेक वर्ष जुलाई ३० का दिन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइन्छ। सन् २०१३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव बेचबिखनविरुद्धको विश्वव्यापी कार्ययोजनाको प्रभावकारिताको समीक्षा गर्न आयोजित उच्चस्तरीय बैठकबाट जुलाई ३० लाई अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता यो दिवस विश्वभर चेतना अभिवृद्धि, पीडितको संरक्षण, अपराधीलाई कानुनी दायरामा ल्याउने तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने उद्देश्यका साथ मनाइँदै आएको छ।

यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस ‘ठगीको जालभित्र थुनिएका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइँदै छ । यसले विशेषगरी अनलाइन ठगी, साइबर अपराध तथा डिजिटल प्लेटफर्ममार्फत गरिने नयाँ प्रकृतिको मानव बेचबिखनप्रति विश्व समुदायलाई सचेत गराएको छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, नक्कली रोजगारीका विज्ञापन, वैदेशिक रोजगारका आकर्षक प्रस्ताव तथा अनलाइन सम्पर्कमार्फत मानिसलाई विदेश पुर्‍याई साइबर ठगी सञ्चालन गर्ने केन्द्रहरूमा जबर्जस्ती काम लगाउने घटना उल्लेखनीय रूपमा बढेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले यस्ता पीडितहरूको पहिचान, उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि सरकारहरूबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।

मानव बेचबिखन कुनै एक देश वा क्षेत्रको समस्या मात्र होइन। यो विश्वव्यापी संगठित अपराध हो, जसले विकसित, विकासशील र अल्पविकसित सबै राष्ट्रलाई प्रभावित बनाएको छ। संयुक्त राष्ट्र सङ्घको परिभाषाअनुसार छल, प्रलोभन, धम्की, बल प्रयोग, अपहरण, अधिकारको दुरुपयोग वा आर्थिक लाभका माध्यमबाट कुनै व्यक्तिलाई नियन्त्रणमा लिएर शोषण गर्नु मानव बेचबिखन हो। शोषणका स्वरूपमा यौन शोषण, जबर्जस्ती श्रम, घरेलु दासता, बालश्रम, अंग तस्करी, जबर्जस्ती विवाह, अपराध गर्न बाध्य पार्ने कार्य तथा पछिल्ला वर्षहरूमा अनलाइन ठगी सञ्चालन गराउने उद्देश्यसमेत पर्दछन्।

विश्वव्यापी रूपमा महिलाहरू र बालिकाहरू यौन शोषणका लागि सबैभन्दा बढी बेचबिखनमा पर्ने समूह हुन्। त्यसैगरी पुरुष तथा बालकहरूलाई निर्माण, कृषि, उद्योग, घरेलु श्रम, माछा मार्ने उद्योगलगायत विभिन्न क्षेत्रमा जबर्जस्ती श्रममा लगाइन्छ। पछिल्लो समय डिजिटल प्रविधिको दुरुपयोगसँगै मानव बेचबिखनको स्वरूप पनि परिवर्तन भएको छ। वैदेशिक रोजगारी, आकर्षक तलब, निःशुल्क यात्रा वा अध्ययनको अवसरका नाममा मानिसलाई फसाएर संगठित अपराध समूहले उनीहरूलाई आर्थिक तथा शारीरिक शोषणमा पार्ने गरेको छ।

नेपाल पनि मानव बेचबिखनबाट प्रभावित मुलुक हो। भौगोलिक अवस्थिति, खुला सीमा, गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक विभेद, प्राकृतिक विपत्ति तथा सुरक्षित वैदेशिक रोजगारीबारे पर्याप्त जानकारीको अभावले नेपाली नागरिकहरू बेचबिखनको जोखिममा पर्दै आएका छन्। विशेषगरी महिला, किशोरी, बालबालिका तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिकहरू यस अपराधको मुख्य निशाना बन्ने गरेका छन्।

वैदेशिक रोजगारीका नाममा विभिन्न देशमा पुर्‍याएर श्रम शोषण, घरेलु हिंसा तथा पासपोर्ट नियन्त्रण गरी जबर्जस्ती काम गराउने घटना बारम्बार सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालमार्फत मित्रता गाँस्ने, विवाहको प्रस्ताव गर्ने, आकर्षक रोजगारीको आश्वासन दिने वा अध्ययनको अवसर देखाउने जस्ता माध्यमबाट हुने ठगीले पनि जोखिमलाई थप जटिल बनाएको छ। पछिल्ला वर्षहरूमा नेपाली नागरिकहरूलाई दक्षिणपूर्वी एसियाका केही देशमा पुर्‍याई अनलाइन ठगी सञ्चालन गर्ने केन्द्रहरूमा जबर्जस्ती काम लगाइएको घटनाले मानव बेचबिखनको बदलिँदो स्वरूपलाई स्पष्ट पारेको छ।

मानव बेचबिखनको मूल कारण गरिबी मात्र होइन। बेरोजगारी, अवसरको अभाव, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा, सामाजिक विभेद, कमजोर कानुनी कार्यान्वयन, संगठित अपराध समूहको सक्रियता तथा आधुनिक प्रविधिको दुरुपयोगजस्ता अनेक कारण यससँग गाँसिएका छन्। मानिसको राम्रो जीवन बाँच्ने आकांक्षालाई अपराधी समूहले आफ्नो स्वार्थका लागि प्रयोग गर्ने भएकाले चेतनाको अभाव भएका समुदाय बढी जोखिममा पर्छन्।

मानव बेचबिखनका विभिन्न स्वरूप छन्। यौन शोषण, जबर्जस्ती श्रम, बाल बेचबिखन, अंग तस्करी, जबर्जस्ती विवाह, घरेलु दासता तथा साइबर अपराधमा संलग्न गराउन गरिने बेचबिखन आजका प्रमुख चुनौती बनेका छन्। यस्ता अपराधले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै परिवार, समाज र राष्ट्रको सामाजिक तथा आर्थिक विकासमा समेत नकारात्मक प्रभाव पार्दछ।

नेपालले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी तथा नीतिगत व्यवस्था गरेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ लागू गरी यस अपराधलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। उक्त ऐनले मानव बेचबिखनलाई गम्भीर फौजदारी अपराधका रूपमा परिभाषित गर्दै दोषीलाई कडा सजाय, पीडितलाई क्षतिपूर्ति, उद्धार, संरक्षण तथा पुनर्स्थापनाको व्यवस्था गरेको छ। नेपाल विभिन्न अन्तर्राष्ट्रिय महासन्धि र प्रोटोकलहरूको पक्ष राष्ट्रसमेत भएकाले मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई पनि निरन्तर सुदृढ गर्दै आएको छ।

यद्यपि कानुन निर्माण मात्र पर्याप्त हुँदैन। यसको प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण हुन्छ। सीमा क्षेत्रमा निगरानी सुदृढ गर्नु, सुरक्षित वैदेशिक रोजगारीबारे जनचेतना फैलाउनु, सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे शिक्षा दिनु, विद्यालयस्तरदेखि समुदायसम्म सचेतनामूलक अभियान सञ्चालन गर्नु, पीडितको उद्धार र पुनर्स्थापनालाई प्रभावकारी बनाउनु तथा अपराधीमाथि निष्पक्ष र कडा कारबाही गर्नु आजको आवश्यकता हो। स्थानीय सरकार, सुरक्षा निकाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकबीच समन्वयात्मक प्रयासबिना मानव बेचबिखन नियन्त्रण सम्भव छैन।

आज मानव बेचबिखनको चुनौती सीमाना, भाषा वा भूगोलमा सीमित छैन। प्रविधिको विस्तारसँगै अपराधीहरू पनि झन् संगठित र चतुर बन्दै गएका छन्। त्यसैले प्रविधिको प्रयोग जति बढेको छ, त्यति नै सचेतना, कानुनी निगरानी र अन्तर्राष्ट्रिय सहकार्य पनि सुदृढ हुन आवश्यक छ।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस केवल औपचारिक दिवस होइन, मानव मर्यादा, स्वतन्त्रता र न्यायको पक्षमा उभिने विश्वव्यापी प्रतिबद्धताको प्रतीक हो। कुनै पनि समाजको सभ्यता त्यसले कमजोर र असुरक्षित नागरिकको कति संरक्षण गर्न सक्छ भन्ने आधारमा मापन गरिन्छ। मानिसलाई वस्तु सरह किनबेच गरिने समाजलाई सभ्य भन्न सकिँदैन।

त्यसैले मानव बेचबिखनको अन्त्य सरकारको मात्र दायित्व होइन; यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो। प्रत्येक नागरिक सचेत हुने, प्रत्येक परिवार जिम्मेवार बन्ने, प्रत्येक समुदाय निगरानीमा सक्रिय रहने, राज्यका निकाय प्रभावकारी रूपमा परिचालित हुने र प्रत्येक पीडितले न्याय तथा सम्मानपूर्ण जीवन पाउने वातावरण निर्माण गर्न सकियो भने मात्र मानव बेचबिखनमुक्त समाजको परिकल्पना साकार हुनेछ। मानवको गरिमा र स्वतन्त्रताको रक्षा गर्दै मानव बेचबिखनजस्तो अमानवीय अपराधको अन्त्य गर्नु नै आजको सबैभन्दा ठूलो सभ्यता र दायित्व हो।

Comments are closed

Related Post