लेखनाथ सिकारू
“कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हो।”- पुष्पलाल
कमरेड पुष्पलाल श्रेष्ठको स्मृति दिवस केवल एउटा ऐतिहासिक व्यक्तित्वलाई सम्झिने दिन मात्र होइन यो नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नै वैचारिक ऐना हेर्ने दिन पनि हो।
आज पुष्पलालको नाम नेपालका सबै कम्युनिष्ट दलले सम्मानका साथ उच्चारण गर्छन्। सबैले उहाँलाई संस्थापक, विचारक, क्रान्तिकारी र नैतिक राजनीतिका प्रतीकका रूपमा स्वीकार गर्छन्। तर प्रश्न नामको होइन, मार्गको हो,निति र सिध्दान्तको हो । प्रश्न श्रद्धाञ्जलीको होइन, अनुशरणको हो। प्रश्न इतिहासको होइन, वर्तमानको हो।
के आजको नेपाली कम्युनिष्ट आन्दोलन वास्तवमै पुष्पलालको मार्गमा छ, कि उहाँकै सिद्धान्तबाट क्रमशः टाढिँदै गएको छ ?
यही प्रश्नको उत्तर खोज्नु नै आजको सबैभन्दा ठूलो राजनीतिक इमानदारी हुनेछ।
नेपालमा कम्युनिष्ट आन्दोलनको जन्म कुनै दल निर्माणको सामान्य घटना थिएन। त्यो सामन्तवाद, निरङ्कुशता, वर्गीय शोषण, राष्ट्रिय पराधीनता र सामाजिक असमानताविरुद्धको वैचारिक विद्रोह थियो। वि.सं. २००६ वैशाख १० गते कोलकातामा चार सहकर्मीसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा पुष्पलालसँग सत्ता थिएन, स्रोत थिएन, संरक्षण थिएन। थियो त केवल एउटा स्पष्ट विश्वास जनताको मुक्ति बिना राष्ट्रको मुक्ति सम्भव छैन, र सिद्धान्त बिना आन्दोलनको भविष्य हुँदैन भन्ने दरिलो विचार।
आज सात दशकपछि नेपाली कम्युनिष्ट आन्दोलन राज्यसत्ताको केन्द्रसम्म पुगेको छ। संसदमा बहुमत बनाएको छ। सरकारको नेतृत्व गरेको छ। संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्म महत्वपूर्ण भूमिका खेलेको छ। तर विडम्बना, आन्दोलनले शक्ति त प्राप्त गर्यो, तर क्रमशः आफ्नो नैतिक उचाइ गुमाउँदै गयो। आकार बढ्यो, तर आदर्श सानो हुँदै गयो। संगठन फैलियो, तर विचार खुम्चिँदै गयो। सत्ता विस्तार भयो, तर जनविश्वास संकुचित हुँदै गयो।
पुष्पलालले कम्युनिष्ट आन्दोलनको मेरुदण्ड तीन ‘स’- सिद्धान्त, संगठन र संघर्ष लाई बनाउनुभएको थियो। यी केवल संगठनात्मक नारा थिएनन् आन्दोलनको अस्तित्वका आधार थिए। आज यही तीन आधार सबैभन्दा बढी संकटमा छन्।
सिद्धान्त सत्ताको सुविधाअनुसार व्याख्या हुन थालेको छ। संगठन गुटगत स्वार्थको बन्दी बन्दै गएको छ। संघर्षको ठाउँ सत्ता व्यवस्थापनले लिएको छ। विचारको स्थान चुनावी गणितले ओगटेको छ। वर्गीय राजनीतिलाई अवसरवादी समीकरणले विस्थापित गरेको छ। परिणामतः कम्युनिष्ट आन्दोलन जनताको परिवर्तनकारी शक्ति कम र सत्ता प्राप्तिको चुनावी संरचना बढी देखिन थालेको छ। खासमा कम्युनिष्ट आन्दोलन चुनाव देखि चुनाव सम्मको चौघेरामा बन्दि बनेको छ ।
पुष्पलालले स्पष्ट भन्नुभएको थियो “कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हो।” आजको यथार्थ यस भनाइको ठीक विपरीत उभिएको छ। नीति नेताअनुसार फेरिन्छ, विचार व्यक्तिअनुसार परिभाषित हुन्छ र सिद्धान्त सत्ता समीकरणअनुसार व्याख्या गरिन्छ। व्यक्तिपूजा संस्थागत संस्कृतिका रूपमा विकसित हुँदै जाँदा सामूहिक नेतृत्व, आलोचना-आत्मालोचना र वैचारिक बहस क्रमशः कमजोर बनेका छन्।
यो केवल संगठनात्मक समस्या होइन आन्दोलनको चरित्रसँग जोडिएको संकट हो। कमरेड पुष्पलालका लागि राजनीति पद प्राप्त गर्ने माध्यम थिएन। राजनीति वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता र सामाजिक रूपान्तरणको अभियान थियो। निर्वासन, चरम अभाव, आर्थिक कठिनाइ र अन्तिम क्षणसम्मको संघर्षले पनि उहाँलाई आफ्नो आदर्शबाट विचलित बनाउन सकेन।
आज भने त्यही आन्दोलनभित्र पद, प्रतिष्ठा, अवसर, सत्ता साझेदारी र गुटगत स्वार्थले वैचारिक प्रतिबद्धतालाई पछि धकेलेको छ। जनताको बीचमा पुग्ने प्रतिस्पर्धाभन्दा सत्ता समीकरणमा सहभागी हुने होड बढी देखिन्छ। त्यही कारण कम्युनिष्ट आन्दोलनप्रति जनविश्वास क्रमशः कमजोर हुँदै गएको छ।
पुष्पलालले नेपाली समाजलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण बाट अध्ययन गर्नुभयो। उहाँले नेपालको मौलिकता, वर्गीय संरचना, सांस्कृतिक यथार्थ र राष्ट्रिय विशेषताको आधारमा नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका लागि समाजवाद केवल आर्थिक कार्यक्रम थिएन त्यो सांस्कृतिक रूपान्तरण, नैतिक अनुशासन र सामाजिक चेतनाको आन्दोलन ,राजनीतिक चेतनाको दियो र ज्वारभाटा पनि थियो।
आज समाजवाद भाषणमा छ व्यवहारमा उपभोक्तावाद, व्यक्तिवाद, उपभोगवादी जीवनशैली र शक्तिकेन्द्रित राजनीति,र दलाल पूँजीवाद हावी छ। समाजवादी नैतिकता कमजोर हुँदै जाँदा आन्दोलनको वैचारिक विश्वसनीयता पनि क्षीण बन्दै गएको छ।
पुष्पलालको अर्को महान् योगदान राष्ट्रियताको प्रश्नलाई वर्गीय राजनीतिसँग जोड्नु थियो। विदेशी हस्तक्षेप, प्रभुत्ववाद र राष्ट्रिय आत्मसमर्पणका विरुद्ध उहाँ दृढतापूर्वक उभिनुभयो। उहाँका लागि राष्ट्रिय स्वाधीनता र जनवाद एउटै संघर्षका दुई आयाम थिए।
आज नेपाल भूराजनीतिक प्रतिस्पर्धाको संवेदनशील घेरामा उभिएको छ। आर्थिक निर्भरता, नीतिगत दबाब र बाह्य प्रभावबीच राष्ट्रिय स्वाभिमानको प्रश्न झन् गम्भीर बनेको छ। यस्तो अवस्थामा पुष्पलालको राष्ट्रिय दृष्टिकोणलाई स्मरण गर्नु पर्याप्त छैनस त्यसलाई व्यवहारमा उतार्नु आवश्यक छ।
उहाँले पार्टीभित्र जनवाद र केन्द्रीयताको सन्तुलन, अल्पमतको सम्मान र बहुमतको निर्णयलाई अनुशासनपूर्वक कार्यान्वयन गर्ने संस्कृतिमा जोड दिनुभयो। तर आज धेरै कम्युनिष्ट पार्टीभित्र फरक मतलाई वैचारिक बहसले होइन, संगठनात्मक शक्ति प्रयोग गरेर दबाउने प्रवृत्ति बढेको छ। जहाँ बहस कमजोर हुन्छ, त्यहाँ विचार पनि कमजोर हुन्छ। जहाँ विचार कमजोर हुन्छ, त्यहाँ आन्दोलन अन्ततः जडतामा फस्छ।
आज नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो चुनौती बाह्य शक्तिसँगको संघर्ष होइन। सबैभन्दा ठूलो चुनौती आफ्नै सिद्धान्तबाट भएको विचलन हो।
पुष्पलालले वर्गीय राजनीति भन्नुभयो हामीले वर्गभन्दा गठबन्धनलाई प्राथमिकता दियौँ। जुन केवल सत्ता स्वार्थका खातिर मात्र । उहाँले नीति प्रधान भन्नुभयो हामीले व्यक्तिलाई केन्द्रमा राख्यौँ। उहाँले त्याग सिकाउनुभयो हामीले सुविधालाई संस्कार बनायौँ। उहाँले अध्ययनलाई आन्दोलनको प्राण भन्नुभयो हामीले प्रचारलाई अध्ययनको विकल्प ठान्यौँ। उहाँले जनतालाई शक्ति भन्नुभयो हामीले सत्तालाई शक्ति सम्झियौँ। यही विरोधाभासले आज आन्दोलनलाई वैचारिक संकटमा पुर्याएको छ।
यसकारण पुष्पलाललाई श्रद्धाञ्जली दिने सबैभन्दा ठूलो उपाय माल्यार्पण होइन उहाँका सिद्धान्तलाई पुनः आन्दोलनको केन्द्रमा स्थापित गर्नु हो।
सिद्धान्तलाई अवसरवादमाथि उठाउनुपर्छ। व्यक्तिपूजालाई अन्त्य गर्नुपर्छ। संगठनलाई गुटबाट मुक्त गर्नुपर्छ। आलोचना–आत्मालोचनाको संस्कार पुनर्जीवित गर्नुपर्छ। समाजवादी नैतिकता, सादगी, अध्ययनशीलता र जनतासँगको जीवित सम्बन्धलाई पुनः स्थापित गर्नुपर्छ, जनता र उत्पादनलाई जोडेनुपर्छ। बदलिएको नेपाली समाजको नयाँ वर्गीय विश्लेषण गर्दै वर्तमान युगअनुकूल समाजवादी कार्यदिशा निर्माण गर्नुपर्छ।
पुष्पलालले देखाउनुभएको राजमार्ग इतिहासको एउटा स्मारक मात्र होइन भविष्यको दिशासूचक पनि हो। उहाँलाई सम्झनु भनेको तस्वीरमा फूल चढाउनु होइन, आफ्नै राजनीतिक व्यवहारलाई उहाँका विचारसँग तुलना गर्ने साहस गर्नु हो।
कम्युनिष्ट आन्दोलनको पुनर्जागरण सम्भव छ, तर त्यो नयाँ नारा वा नयाँ गठबन्धनबाट होइन। त्यो सम्भव छ पुष्पलालले निर्माण गरेको सिद्धान्तको राजमार्गमा पुनः फर्किन सक्दा मात्र।
इतिहासले पुष्पलाललाई सही प्रमाणित गरिसकेको छ। अब प्रश्न इतिहासको होइन आजका कम्युनिष्टहरूले आफूलाई उहाँका विचारको योग्य उत्तराधिकारी प्रमाणित गर्न सक्छन् कि सक्दैनन् भन्ने हो।
लालसलाम ।














Comments are closed