Shopping cart

अर्थ

क्वाँटी के हो र किन खाने ?

Email :197

काठमाडौँ । आज जनै पूर्णिमा, र यो दिनको मुख्य आकर्षण हो-क्वाँटी। नेपाली संस्कृतिमा हरेक पर्वसँग विशेष परिकारको सम्बन्ध जोडिएको हुन्छ-तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमूल, असार १५ मा दही-चिउरा, र जनै पूर्णिमामा क्वाँटी।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ ।  क्वाँटी विभिन्न गेडागुडी मिसाएर पकाइएको झोलिलो परिकार हो। त्यसो त जुनसुकै दलहन तथा गेडागुडीहरू दुई वा सोभन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्वहरू प्राप्त गर्न सकिने हुन्छ । तर हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडीहरू रहेका छन् ।

क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो । नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । प्रोटिन मानव शरिरको लागि अति आवश्यक तत्व हो । यसले शरिरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ ।

रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ । टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ । क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन् ।

क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ । भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने विरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ । झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ । प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ ।

यसरी ती तोकिएका प्रत्येक गेडागुडी तथा तिनले शरीरमा पार्ने प्रभाव, क्वाँटीको महत्व र फाइदा यसप्रकार छन्-

१. राजमा (रातो मिर्गौला जस्तो गेडागुडी) : यो हेर्दा मिर्गाैलाको आकार जस्तै देखिन्छ र मिर्गौलाको स्वास्थ्यमा प्रभावकारी छ । साथै यो गेडागुडीमध्ये निकै लोकप्रिय रहेको छ र सँगसँगै विभिन्न पौष्टिक तत्वहरूले पनि भरिएको छ । यसका फाइदाहरूमा यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्टेरोल नियन्त्रण गर्छ ।

साथै मस्तिष्कको कार्यक्षमता बढाउने, मिर्गौलालाई सुरक्षा गर्ने र मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकोले सुगरका रोगीलाई पनि राजमाको सेवनले फाइदा नै गर्छ । यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यबर्धक पनि हुन्छ । त्यस्तै यसमा प्रशस्त फाइबर पाइने हुँदा यसको नियमित सेवन गर्दा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ । यसमा इनर्जी, प्रोटिन, नगन्य चिल्लो, कार्बोहाइड्रेट, फाइबर, सुगर, क्याल्सियम, पोटासियम र सोडियम जस्ता विभिन्न तत्व पाइन्छन् ।

२. बोडी (कालो आँखा जस्तो गेडागुडी) : यस्ता गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडीको सेवनले मुटुका रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा, तौल कम गराउन सहयोग र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिन लगायत अन्य विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् ।

३. चना (चिकपिज) : अरू गेडागुडी जस्तै चना पनि प्रोटिन लगायत विभिन्न पौष्टिक तत्वहरूको भण्डार हो । यसको नियमित सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।

४. भटमास (सोयाबिन) : भटमास पनि प्रोटिन, फाइबर तथा विभिन्न पौष्टिक तत्वहरूको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्टेरोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेन्ट तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाइन्छ ।

५. मुङ्ग (मुङ्गको दाना) : यो पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त पाइने गेडागुडी हो । यसको नियमित सेवनले मुटुका रोगहरू, रक्तचाप र कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

६. मास (कालो ग्राम दाना) : यसमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । यसको सेवन गर्नाले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मिर्गौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउन समेत यसको सेवन गर्न सकिन्छ । साथै यो पेट दुखाइ, पायल्स, कब्जियत जस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

७. बकुल्ला : यो हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने फाइदाजनक गेडागुडी हो । यसका साथै यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोग (मस्तिष्कको कडा समस्या) मा फाइदा पुर्‍याउँछ भने रक्तअल्पता, तौल, कोलेस्टेरोल कम गर्ने र रक्तचाप व्यवस्थित गर्ने जस्ता काम पनि गर्छ ।

८. केराउ : केराउको सेवनले पाचनप्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म् बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।

९. सेतो सिमी/गेडागुडी : यो स्वस्थकर शारीरिक तौल, मांसपेशी बलियो र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।

क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रूपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो तापनि यसको सेवन गर्नु अति आवश्यक छ । नियमित रूपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिए तापनि जति उपलब्ध छ त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ । यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन ।

गर्भवती, स्तनपान गराउने महिला, बच्चा, किशोरकिशोरी र वृद्धहरूका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो । घरपरिवारमा सबैले यसको सेवन गर्ने गरेमा रोगरहित ऊर्जावान् परिवारको कल्पना गर्न सकिन्छ ।

 

Comments are closed

Related Post