काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा गाईझैँ सजिएका व्यक्तिहरूको नगर परिक्रमा गरिन्छ। राजा प्रताप मल्लको पालादेखि चलिआएको परम्परा अनुसार हनुमानढोकाबाट गाईजात्रा सुरु हुने चलन आज पनि कायम छ।
पर्वमा हास्यव्यङ्ग्य, नाचगान, झाँकी प्रदर्शन गरिँदै सामाजिक विकृति–विसङ्गतिमाथि व्यङ्ग्य गरिन्छ। पाटन र ठमेलमा देखाइने विशेष प्रदर्शनीहरू दर्शकको मुख्य आकर्षण बनेका छन्। नेवार समुदाय बसोबास भएका अन्य सहरहरूमा पनि पर्व उल्लासपूर्वक मनाइँदै छ। काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।














Comments are closed