–विजय पौडेल/काठमाडौं
बोधगयाको २१औँ काग्यु मोलाममा १७औँ कर्मापा थिन्ले थाय दोर्जेको पहिलो दर्शन गर्दा मेरो मनमा गहिरो शान्ति र प्रेरणाको अनुभूति भयो । त्यो क्षण मेरो लागि अविस्मरणीय छ । उहाँको शान्त र करुणापूर्ण अनुहार हेर्दा मनमा एक किसिमको अद्भूत ऊर्जा सञ्चार भएको थियो, जुन शब्दमा बयान गर्न सकिँदैन । उहाँलाई देख्दा लाग्यो, साँचो करुणा र प्रेरणा पृथ्वीमा नै जीवित रहेछ । आज उहाँको बारेमा मेरो हृदयदेखि निस्केका केही भावहरूलाई यस स्तम्भमा समेट्ने जमर्काे गर्दैछु ।
सरल जीवन, गहिरो प्रभाव
कर्मापा थिन्ले थाय दोर्जेको जीवनशैली अत्यन्तै साधारण छ । उहाँको जीवनले हामीलाई सिकाउँछ कि खुसी हुनका लागि भौतिक सुखसुविधाको पछाडि दौडनु पर्दैन ।
उहाँले आफ्नो जीवनलाई ध्यान, प्रार्थना र अरूको भलाइमा समर्पित गर्नुभएको छ । उहाँको यो निस्वार्थ भावनाले मलाई सधैँ प्रभावित पार्छ । आजको भौतिकवादी संसारमा जहाँ सबै मानिसहरू धन र सुखको पछाडि दौडिरहेका छन्, त्यहाँ उहाँको यो सरल जीवनशैली एक प्रकाश स्तम्भजस्तै छ, जसले हामीलाई आन्तरिक शान्ति र सन्तुष्टिको मार्ग देखाउँछ ।
करुणाको प्रतिमूर्ति
उहाँको आँखामा मैले देखेको करुणा कुनै सामान्य दयाभाव थिएन । त्यो त असीम र वास्तविक प्रेम थियो । उहाँको उपस्थितिमात्रैले पनि मनमा एक प्रकारको शान्ति महसुस हुन्थ्यो । उहाँले आफ्ना अनुयायीहरूलाई मात्र होइन, सम्पूर्ण मानव जातिलाई दयालु र सहिष्णु बन्न प्रेरित गर्नुहुन्छ । उहाँका प्रवचनहरूमा सधैँ अहिंसा, प्रेम र समझदारीको सन्देश हुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘वास्तविक खुसी बाहिर होइन, हाम्रो भित्री मनको शान्तिमा पाइन्छ ।’ यो कुराले मलाई सधैँ सोच्न बाध्य बनाउँछ कि हामीले आफ्नो दैनिक जीवनमा कति पटक अरूप्रति क्रोध र ईष्र्या गर्छौं, जबकि वास्तविक खुसी त अरूको भलाइमा नै छ ।

शान्ति र सद्भावको दूत
कर्मापा थिन्ले थाय दोर्जेले शान्ति र सद्भावको सन्देश विश्वभर फैलाउनु भएको छ । उहाँले विभिन्न देशमा भ्रमण गरेर बौद्ध धर्मका सिद्धान्तहरूलाई सरल तरिकाले प्रस्तुत गर्नुभएको छ । उहाँले धर्म, संस्कृति र राष्ट्रियताको सीमा नाघेर मानवतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुहुन्छ । उहाँका सामाजिक तथा सांस्कृतिक योगदानहरू पनि अतुलनीय छन् ।
उहाँले शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका लागि विभिन्न परियोजनाहरूलाई समर्थन गर्नु भएको छ । जसले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ । उहाँको कामले मलाई लाग्यो कि एक व्यक्तिले पनि विश्वमा ठूलो परिवर्तन ल्याउन सक्छ, यदि उसमा साँचो इच्छाशक्ति र करुणा छ भने ।
कर्मापा विवाद र गुरु समरपाको भूमिका
बौद्ध धर्मको इतिहासमा कर्मापा परम्परामा देखिएको विवादको समयमा, १७औँ कर्मापा थिन्ले थाय दोर्जेको भूमिका महत्वपूर्ण रह्यो । यद्यपि यो एक संवेदनशील विषय हो । तर उहाँले एकता र सामञ्जस्य कायम गर्न निरन्तर प्रयास गर्नुभयो । उहाँका गुरु शमर रिन्पोछे (समरपा), जसले उहाँलाई १७औँ कर्मापाको रूपमा पहिचान गर्नु भएको थियो ।
उहाँको भूमिका पनि यस सन्दर्भमा अत्यन्तै महत्वपूर्ण मानिन्छ । शमरपाले कर्मापाको पुनर्जन्मको परम्परालाई अगाडि बढाउन र थिन्ले थाय दोर्जेलाई उचित शिक्षा र मार्गदर्शन प्रदान गर्न अथक प्रयास गर्नु भयो । यी दुई महान् व्यक्तित्वको सम्बन्धले काग्यु परम्पराको निरन्तरतामा ठूलो योगदान पुर्याएको छ । उहाँहरूको यो सम्बन्धले कठिनाइको समयमा पनि विश्वास र गुरु–शिष्य परम्पराको महत्व झल्काउँछ ।
व्यक्तिगत प्रेरणा
मेरो लागि १७औँ कर्मापा थिन्ले थाय दोर्जे केवल एक धार्मिक गुरूमात्र हुनुहुन्न । उहाँ एक प्रेरणाका स्रोत हुनुहुन्छ, जसले मलाई जीवनमा सकारात्मक हुन, दयालु हुन र अरूको भलाइको लागि सोच्न सिकाउनु भयो ।
बोधगयामा उहाँको पहिलो दर्शनपछि मेरो जीवनप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन आयो । मैले सानातिना कुरामा खुसी खोज्न थालेँ र अरूप्रति सहिष्णु बन्न सिकेँ । उहाँका अनुहारमा सधैँ देखिने त्यो शान्त मुस्कानले मलाई सधैँ याद दिलाउँछ कि जीवनका कठिनाइहरूमा पनि हामीले आफ्नो भित्री शान्ति र खुसीलाई कायम राख्न सक्नुपर्छ ।
उहाँको जीवन र शिक्षाले मलाई मात्र होइन, लाखौं मानिसलाई आशा र शान्तिको मार्ग देखाएको छ । उहाँको यो प्रेरणादायी यात्राले हामी सबैलाई एक उत्तम मानव बन्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सधैँ उत्प्रेरित गरिरहने छन् ।
















Comments are closed