Shopping cart

  • Home
  • शिक्षा
  • जेन-जीको नामको विध्वंसले देश २५ वर्ष पछाडि धकेलियो
देश

जेन-जीको नामको विध्वंसले देश २५ वर्ष पछाडि धकेलियो

Email :102

काठमाडौं  ।  नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारी सम्पत्ति जलाउनेहरूलाई कारबाही नगरी देशमा निर्वाचन हुन नसक्ने बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका नाममा सरकारी सम्पत्ति जलाउनेहरूलाई अपराधी करार गरे। “सरकारी सम्पत्ति जलाउनेहरू अपराधी हुन् कि होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन? ती अपराधीहरू दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ?” उनले प्रश्न गरे।

खनालले  जेन-जी आन्दोलनले देशलाई गम्भीर संवैधानिक संकटतर्फ धकेलेको बताए उनले २४ घण्टाभित्र भएको उक्त प्रदर्शनले मुलुकलाई कम्तीमा २५ वर्ष पछाडि धकेल्ने स्तरको क्षति पुर्‍याएको बताए ।

उनले अन्तरिम सरकारले यस्ता अपराधीहरूमाथि के कारबाही गर्छ भन्दै प्रश्न उठाएका छन्। निर्वाचन देशलाई आवश्यक रहे पनि त्यसका लागि आधारभूत पूर्वाधार तयार नभएको उनको भनाइ छ।

“चुनाव चाहिएको छ, गर्नुपर्छ भनेर हामी लागेका छौँ । तर पूर्वाधार तयार गर्नुपर्छ। ९० हजार बुलेट कब्जा भएका छन्, फर्काइएका छैनन्। १२ हजार राइफल कब्जा भएका छन्। १४ हजार बन्दी बाहिर गएका छन्, ६ हजार आएका छैनन्,” खनालले भने।

उनले भने, “२४ घण्टाको बीचमा जुन प्रकारको विध्वंस भयो, त्यसलाई पुनः निर्माण गर्न कम्तीमा २५ वर्ष लाग्छ। कसैलाई यो आन्दोलन ठूलो क्रान्ति जस्तो लाग्न सक्छ, तर यथार्थमा बनेको संविधान नै झन्डै समाप्त पार्ने काम भयो।”

 

खनालका अनुसार अहिलेको अवस्थामा संविधान तोडफोड भएको छ, सग्लो संविधान बाँकी छैन। उनले संविधान सभाबाट बनेको संविधानमाथि भएको आक्रमणले अब फेरि अर्को संविधान सभा बनाएर नयाँ संविधान बनाउने कल्पना नै असम्भव भएको स्पष्ट पारे।

“संविधान सभाबाट संविधान बनाउने अवसर नेपालले ऐतिहासिक रूपमा पहिलो पटक पाएको हो। विश्वमै संविधान सभाबाट बनेका संविधान ४२ वटा मात्र छन्। त्यस अर्थमा नेपाल संवैधानिक हिसाबले अग्रगामी देश हो,” उनले भने।

 

जेन–जी आन्दोलनको नाममा भएको अराजकता र विध्वंसले संवैधानिक स्थायित्व, लोकतान्त्रिक प्रक्रिया र राज्य व्यवस्थामाथि नै प्रश्न उठाएको खनालको भनाइ थियो। उनले देश अहिले अत्यन्त अप्ठ्यारो अवस्थाबाट अघि बढिरहेको भन्दै जिम्मेवार र सचेत राजनीतिक व्यवहारको आवश्यकता औंल्याए।

Comments are closed

Related Post